बारामा १७ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सिमराः बारा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला हरपुर पञ्चायत वडा नं. ६ का २१ वर्षीय राकेश कुमार साह र पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ६ सन्ठी गाउँका २० वर्षीय अजित मगिज्ञा रहेका छन् ।
इलाका प्रहरी कार्यालय प्रसौनी, लागूऔषध नियन्त्रण ब्युरो वीरगन्ज र इलाका प्रहरी कार्यालय छतवाको संयुक्त टोलीले विश्रामपुर गाउँपालिका ५ बरैनिया बजार क्षेत्रमा लागूऔषध बिक्री–वितरण गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको शरीर खानतलासी गर्दा राकेशले लगाएको कालो हाफ पाइन्टभित्र लुकाइछिपाइ राखिएको अवस्थामा सेतो प्लास्टिकसहित १७ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए ।
प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०५ बीटी ३७५६ नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।







