सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

सप्तरीः सप्तरीको विष्णुपुर गाउँपालिका ५ कट्टीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका १२ सिंगियौनका २३ वर्षीय छोटेलाल यादव रहेका छन् ।
प्रहरीका अनुसार बीआर ५०–०६२८८ र ना २२ प ३२८५ नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल चालक छोटेलाल गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







