मोबाइल नष्ट गर्ने निर्णयविरुद्ध विद्यार्थी आन्दोलित, क्षतिपूर्तिको माग


eShilalekh

२४ जेष्ठ २०८३, आईतवार १४:४५

सिराहाः जिल्ला प्रशासन कार्यालय सिराहाले गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा परीक्षार्थीहरूबाट जफत गरेका करिब पाँच सय थान मोबाइल फोन र स्मार्ट घडी नष्ट गरेपछि विवादमा उत्पन्न भएको छ ।

प्रशासनले परीक्षाको मर्यादा कायम राख्न र भविष्यमा हुन सक्ने दुरुपयोग रोक्न भन्दै सात थान आईफोन, चार सय ८९ थान विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्ट वाच जिल्ला प्रहरी कार्यालय परिसरमा २४ घण्टा पानीमा डुबाएर, फुटाएर पूर्ण रूपमा नष्ट गरेको हो ।

संयुक्त विद्यार्थी सङ्गठनहरूले सार्वजनिक गरेको सूचनाअनुसार सोमबार जिल्ला प्रशासन कार्यालय सिराहाको मुख्य गेट अगाडि बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने नारासहित आयोजना हुने प्रदर्शनमा जिल्लाभरका विद्यार्थीहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।

अनेरास्ववियु मधेस प्रदेशका संयोजक सतिशचन्द्र सिंहले जफत गरिएका मोबाइल तथा अन्य उपकरणको उचित क्षतिपूर्ति उपलब्ध गराउन, परीक्षाका नाममा विद्यार्थीमाथि हुने मानसिक दबाब अन्त्य गर्न तथा पीडित विद्यार्थीहरूको न्याय सुनिश्चित गर्न आन्दोलन घोषणा गरिएको बताए ।

यता जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलले भने शिक्षा ऐनको व्यवस्था र जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुसार नै मोबाइल नष्ट गरिएको दाबी गरेका छन् । जफत गरिएका सामग्री कानुनी रूपमा लिलामी गर्न सकिने प्रावधान भए तापनि मोबाइलजस्ता संवेदनशील उपकरण पुनः दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राखेर यस्तो कदम चालिएको प्रजिअ पौडेलको तर्क छ ।

मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग गरिए कडा कारबाही गर्ने चेतावनी दिएका आधारमा जिल्ला परीक्षा समन्वय समितिले मोबाइल व्यवस्थापनका लागि एउटा उपसमिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्