वीरगन्जका मेयरसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर

सिमराः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाई झुटा विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
अख्तियारका अनुसार मेयर सिंहले सिन्धुपाल्चोककी रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरी भनी झुटा विवरण पेस गरेका थिए । उनले वीरगन्ज महानगरपालिका वडा नं. ३ बाट रुविनाको जन्मदर्ता गराउन सूचकको भूमिका निर्वाह गरेका थिए । सोही जन्मदर्ताका आधारमा रुविनाले २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।
यस प्रकरणमा अख्तियारले मेयर सिंहलाई मतियारको रूपमा मुख्य कसुरदार सरह सजायको माग गरेको छ । नागरिकता लिने रुविना श्रेष्ठ, उनकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई तथा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ ।
त्यसैगरी गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका तत्कालीन संयोजक उपसचिव पुस्कर राना र सदस्य शाखा अधिकृत परशुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरूले वास्तविक तथ्य लुकाई दोषीलाई जोगाउने उद्देश्यले गलत छानबिन प्रतिवेदन तयार पारेको आरोप अख्तियारको छ।
छानबिनका क्रममा सरकारी अभिलेख तथा कागजातहरूमा अनधिकृत रूपमा सच्याउने, केरमेट गर्ने र कागजात लुकाउने जस्ता गैरकानुनी गतिविधि भएको समेत फेला परेको आयोगले जनाएको छ।
अख्तियारले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कैद तथा जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ। मुद्दाको अन्तिम टुंगो भने अदालतको निर्णयपछि लाग्नेछ।







