रास्वपा पर्सामा सांसद हरि पन्तको प्यानल निर्वाचित


eShilalekh

२६ जेष्ठ २०८३, मंगलवार १३:३१

वीरगन्जः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला कार्यसमितिमा सांसद बुद्धिप्रसाद पन्त (हरि) को प्यानल निर्वाचित भएको छ । नयाँ नेतृत्व चयनका लागि सोमबार राति वीरगन्जमा सम्पन्न निर्वाचनमा पन्त नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

निर्वाचन समितिका संयोजक नन्दन यादवका अनुसार सभापति पदमा पन्तले १६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सांसद सुशीलकुमार कानुले ११८ मत प्राप्त गरेका थिए। पन्तले ४८ मतको फराकिलो अन्तरले जीत निकालेका हुन् ।

पन्त पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद हुन् भने कानु क्षेत्र नं. २ का सांसद हुन् । उपसभापति पदमा पन्त समूहकै दिलीपकुमार कुर्मी १६२ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी रन्दीप श्रीवास्तवले ११४ मत प्राप्त गरे ।

यस्तै सचिव पदमा सुदिशकुमार प्रजापति १६० मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी शिवकुमार साहले ११६ मत प्राप्त गरे। सहसचिव पदमा कृष्णा पासवान १४९ मतसहित विजयी हुँदा नीरजकुमार साह ११३ मतमा सीमित भए । सदस्य पदतर्फ तुलसा पौडेल, कामोध्या चौधरी, प्रियङ्का कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा र शशीदेवी थरुनी निर्वाचित भएका छन् ।

पर्साका चार सांसदमध्ये हरि पन्तले पार्टीका पुराना नेतृत्व तथा कार्यकर्ताको साथ लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । कानुलाई क्षेत्र नं. ३ का सांसद रामाकान्त चौरसिया, क्षेत्र नं. ४ का सांसद टेकबहादुर शाक्य, नेता सुधिर पटेलको समर्थन रहेको थियो ।

अधिवेशनलाई लिएर पर्सामा दुई पक्षबीच कुटाकुट समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्