ईपीएस कोरियाबारे सिमरामा अन्तरक्रिया, रोस्टरमा धेरै पर्खनु परेको गुनासो

सिमरा: वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले बुधबार सिमरामा ईपीएस प्रक्रिया तथा कोरियन भाषा परीक्षा सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, रोजगार संयोजक, कोरिया गएर फर्किएका श्रमिक, कोरिया जाने तयारी गरिरहेका युवायुवती, कोरियन भाषा कक्षा सञ्चालक तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने प्रक्रिया, भाषा तथा सीप परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरू समयमै रोजगारका लागि जान नपाएको अवस्था, कोरिया पुगेपछिका चुनौती तथा सुधारका उपायबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ ईपीएस कोरिया शाखाका निर्देशक अनुप ढकाल र सूचना अधिकारी राजकिशोर साहले दिएका थिए ।

अन्तरक्रियाका क्रममा कोरियामा रोजगारी गरी फर्किएकी सिमराकी गीता शर्माले विदेश जानुअघि आवश्यक सीप सिकेर मात्र जानुपर्नेमा जोड दिइन् । उनले कोरियामा हासिल गरेको सीप र अनुभव नेपाल फर्किएपछि उपयोग गर्ने वातावरण अभाव रहेको बताउँदै त्यस्ता सीपलाई स्वदेशमै प्रयोग गर्न सकिने अवसर सिर्जना गर्न आग्रह गरिन् ।
त्यस्तै कोरिया बसेर फर्किएका टिकाजंग थापाले दक्षिण कोरियालाई नेपाली श्रमिकका लागि सुरक्षित रोजगार गन्तव्यका रूपमा चित्रण गरे। उनले कोरियामा सिकेको सीप र अनुभवअनुसार नेपालमा रोजगारीको अवसर नपाउँदा समस्या हुने गरेको बताए ।
सिमरामा कोरियन भाषा कक्षा सञ्चालन गर्दै आएका शुभारम्भ कोरियन भाषाका सञ्चालक प्रेम पाण्डेले भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा बसेका व्यक्तिलाई कोरिया पठाउने प्रक्रिया अत्यन्त सुस्त रहेको गुनासो गरे । उनले रोजगारदाता कम्पनीसँग समन्वय गरी प्रक्रिया थप प्रभावकारी र छिटो बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले कोरिया जान इच्छुक नेपालीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताए । यस्ता कार्यक्रमले वैदेशिक रोजगारीका अवसरबारे सही जानकारी प्रदान गर्दै युवालाई उचित मार्गनिर्देश गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

ईपीएस कोरिया शाखाका निर्देशक अनुप ढकालले कार्यक्रमको उद्देश्य ईपिएस प्रणालीबारे नागरिकलाई सचेत गराउनु रहेको बताए । उनले यस्ता अन्तरक्रियाबाट प्राप्त सुझाव तथा अनुभवले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।








