रौतहटमा सवारी दुर्घटनापछि फरार टिपर चालक पक्राउ

रौतहटः रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुर चोकमा जेठ २४ गते भएको सवारी दुर्घटनापछि फरार टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बृन्दावन नगरपालिका २ का २४ वर्षीय चालक अब्दुल एजाज रहेका छन् ।
गरुडा–समनपुर सडकखण्ड अन्तर्गत सुन्दरपुर चोकमा साइकलमा घर फर्किरहेका गढीमाई नगरपालिका ९ मलाहीका ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनालगत्तै चालक सवारी साधनसहित फरार भएका थिए ।
घटनापछि आक्रोशित बनेका स्थानीयवासी र मृतकका आफन्तले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै गरुडा बजार क्षेत्रमा सडक अवरुद्ध समेत गरेका थिए ।
इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान अघि बढाउने क्रममा १९ वटा टिपर र १७ भन्दा बढी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यका अनुसार प्रारम्भिक बयानका क्रममा एजाजले शिवम् क्रसर उद्योगबाट ढुङ्गा बोकेर गरुडातर्फ जाँदै गर्दा सहनीलाई ठक्कर दिएको र डरले घटनास्थलबाट भागेको भन्दै आफ्नो संलग्नता स्वीकार गरेका छन् ।
चालक पक्राउ परेसँगै चार दिनदेखि अन्योलमा रहेको घटनाले स्पष्टता पाएको छ भने प्रहरीले एजाजविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ ।







