मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

जनकपुरधाम: मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । मधेश प्रदेशसभाको बिहीबार बसेको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो।
नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा उठेका विषयवस्तुहरूलाई समावेश गर्ने प्रतिबद्धता मुख्यमन्त्री कृष्णप्रसाद यादवले व्यक्त गरेपछि पारित भएको हो । छलफलका क्रममा उठेका जिज्ञासा तथा सुझावहरूको जवाफ दिँदै मुख्यमन्त्री यादवले सहकार्य र समन्वयको सिद्धान्तअनुसार प्रदेश सरकार अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।
बैठकमा मुख्यमन्त्री यादवले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उपस्थित प्रदेशसभा सदस्यहरूले ध्वनिमतका आधारमा समर्थन जनाएपछि सभामुख रामअशिष यादवले नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए ।
प्रदेशसभाको अर्को बैठक जेठ २९ गते दिउँसो १ बजे बस्नेछ।







