रौतहटमा एक वृद्धाको शव फेला, लुटपाटपछि हत्या भएको आशंका


eShilalekh

२९ जेष्ठ २०८३, शुक्रबार १३:१२

रौतहटः रौतहटको परोहा नगरपालिका ७ नरकटिया गाउँमा एक वृद्धा महिला खेतमा मृत अवस्थामा फेला परेकी छन् । स्थानीय दीपनारायण पटेलकी ७० वर्षीया श्रीमती लखपतिया देवीको शव शुक्रबार बिहान गाउँनजिकै रहेको राजपइन (कुलो) छेउको खेतमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको नाकबाट रगत बगेको देखिए पनि शरीरमा अन्य कुनै चोटपटक फेला परेको छैन ।

स्थानीयवासीले वृद्धाको लुटपाटपछि हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । वृद्धाले सधैं लगाउने सुनको नाकको फुली समेत नभेटिएकाले गहना लुट्ने उद्देश्यले उनको हत्या भएको हुन सक्ने अनुमान गरिएको हो ।

डिएसपी गौतमले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको र रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारणबारे यकिन गर्न सकिने बताएका छन् ।

मृतकका छोराले दिएको जाहेरीमा हत्याको आशंका बारे उल्लेख नगरेको भए तापनि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्