सर्लाहीमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु, एक घाइते


eShilalekh

३१ जेष्ठ २०८३, आईतवार १४:२०

सर्लाही: सर्लाहीको बागमती नगरपालिकामा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन्।

बागमती नगरपालिका ९ स्थित निर्माण चोक नजिकैको भित्री सडकखण्डमा आइतबार बिहान बिग्रिएर रोकिएको बा.प्र. ०३-००१ ज ०७७६ नम्बरको इभी हायसलाई प्रदेश २-०२-००१ ह १८७९ नम्बरको अटोले टोचन (डोरी) को सहायताले बरहथवातर्फ लैजाने क्रममा दुर्घटना भएको हो। गुडिरहेको उक्त हायसले पैदलयात्री स्थानीय ५५ वर्षीया जयकुमारी देवी र बागमती १० की ४० वर्षीया पुनमदेवी यादवलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै महिलालाई तत्काल उपचारका लागि वीरगञ्जतर्फ पठाइएको थियो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी जयकुमारीलाई थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारा पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। अर्की घाइते पुनमदेवी यादवको भने बाराकै कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था हाल मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै अस्थायी प्रहरी पोस्ट सोल्टीबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न इभी हायस र अटो दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। यस्तै, इभी हायस चालक हरिवन नगरपालिका ७ का ४० वर्षीय देवेन्द्र ठाकुर र अटो चालक बरहथवा नगरपालिका १३ का ३३ वर्षीय विकासकुमार झालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्