पर्सामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ, नगद र तास बरामद

वीरगञ्जः पर्साको सखुवा प्रसौनी गाउँपालिका २ स्थित श्रीपुर बजारमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले एक स्थानीय घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
घटनास्थलबाट प्रहरीले नगद ४१ हजार तीन सय ३५ रुपैयाँ र पाँच बुक तास समेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरूको नाम र ठेगाना भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन ।
पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका सबैलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ र उनीहरूविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।







