वीरगञ्जको मुख्य सडक क्षेत्रका अवैध संरचना हटाउन पाँच दिनको अन्तिम अल्टिमेटम

वीरगञ्जः सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्जको मुख्य सडक क्षेत्रभित्र रहेका अवैध तथा सडक सीमामा पर्ने संरचनाहरू हटाउन पाँच दिनको अन्तिम समयसीमा दिएको छ ।
त्रिभुवन राजपथअन्तर्गत सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडकको केन्द्र रेखा (सेन्टर लाइन) बाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रलाई सडक सीमा कायम गर्ने काम यसअघि नै सुरु भइसकेको छ ।
सडक विस्तार तथा सीमा संरक्षण अभियानका क्रममा धेरै भवनहरू आंशिक रूपमा भत्काइए पनि केही घरधनी तथा व्यवसायीहरूले ती संरचनाहरू पूर्ण रूपमा नहटाई अझै पनि जोखिमयुक्त भवनमै बसोबास र व्यापार सञ्चालन गरिरहेको पाइएकाले कार्यालयले यो कडा कदम चाल्नुपरेको हो ।
कार्यालयले निर्धारित पाँच दिनको अवधिभित्र सम्बन्धित व्यक्तिहरूले आफैँ संरचना नहटाएमा कानुनी प्रक्रिया अनुसार डिभिजन कार्यालयले आफैँ डोजर प्रयोग गरी ती संरचनाहरू भत्काउने स्पष्ट पारेको छ ।
यस्ता क्षतिग्रस्त तथा जोखिमपूर्ण भवनहरू तत्काल खाली गर्न आग्रह गर्दै सडक डिभिजनले सूचनाको बेवास्ता गरेमा त्यसपछि हुन सक्ने सम्भावित दुर्घटना वा क्षतिप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने चेतावनी समेत दिएको छ ।
सडक डिभिजनको यो पछिल्लो कदमसँगै अब वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमा अतिक्रमण हटाउने अभियान थप कडाइका साथ अगाडि बढ्ने देखिएको छ ।







