सिरहामा २८ किलो लागूऔषध गाँजासहित तीन जना पक्राउ


eShilalekh

२ असार २०८३, मंगलवार १३:४६

सिरहाः सिरहामा करिब २८ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार ७ का ३६ वर्षीय रोकेन्द्र बहादुर सुनुवार, गोलबजार १० का छक बहादुर र भारतको बिहार राज्य, पटनाका ३० वर्षीय रोहित कुमार रहेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले गोलबजार नगरपालिकाका विभिन्न स्थानबाट सोमबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

गोलबजार नगरपालिका ७ चोहर्वामा धर्मपुरबाट आउँदै गरेको नम्बर नखुलेको विद्युतीय अटोलाई रोकेर जाँच गर्दा बोरामा लुकाएर राखिएको पाँच किलो सात सय १५ ग्राम गाँजा बरामद गरेको थियो ।

उक्त अटोमा सवार चालक रोकेन्द्र र रोहितलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । पक्राउ परेका भारतीय नागरिक रोहितसँग गरिएको थप सोधपुछ र बयानका आधारमा प्रहरीले छक बहादुरको घरमा छापा मारेको थियो ।

घर खानतलासी गर्दा प्रहरीले थप चारवटा बोरामा लुकाएर राखिएको २२ किलो गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख सुधन केसीले जानकारी दिए ।

कुल २७ किलो ७१५ ग्राम (करिब २८ किलो) गाँजासहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्