बारामा करिब चार किलो लागूऔषध गाँजासहित एक जना पक्राउ

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ अमलेखगंजबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय नाईस बाबु तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश कुमार खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले झोलुङ्गे पुल नजिकैबाट उनलाई पक्राउ गरेको हो ।
प्रहरीले चकरीबाट अमलेखगंजतर्फ आउँदै गरेको ना २ ह ११६० नम्बरको अटो रिक्सालाई रोकेर जाँच गरेको थियो ।
जाँच गर्ने क्रममा तामाङले बोकेको खैरो रंङको झोला खोलेर हेर्दा भित्र कालो प्लाष्टिकले बेरिएका दुई वटा पोकामा लुकाएर राखिएको कुल चार किलो ६०० ग्राम लागूऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
बरामद गरिएको लागूऔषध गाँजा र अटोसहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







