रिङ्कु मृत्यु प्रकरणः तीन जना पक्राउ


eShilalekh

२ असार २०८३, मंगलवार १८:४९

महोत्तरीः महोत्तरीको बर्दिबास नगरपालिका १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय २५ वर्षीया रिङ्कुकुमारी सिंहको शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार पक्राउ परेका तीनै जना विरुद्ध महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आत्महत्या दुरुत्साहन मुद्दामा विस्तृत अनुसन्धान अगाडि बढाइएको छ ।

घटना विवरण अनुसार गत जेठ २९ गते शुक्रबार राति करिब ८ः०० बजे रिङ्कु आफ्नै दुईतले पक्की घरको सुत्ने कोठामा पङ्खाको सिलिङमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

रिङ्कुको मृत्युपछि आक्रोशित बनेका माइती पक्षले उनको हत्या गरिएको दाबी गर्दै घरमा तोडफोड र गाडीमा आगजनी समेत गरेका थिए ।मृतकका बुबा गौशाला नगरपालिका ११ का शत्रुधन महतोले छोरीको मृत्यु सामान्य नभई हत्या र यातनाको परिणाम भएको भन्दै पति, सासू, ससुरा, नन्द र नन्दका पतिसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।

किटानी जाहेरी परेलगत्तै फरार रहेका आरोपीहरूमध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि नन्द र नन्दका पति भने अझै फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । मृतकका बुवाका अनुसार पति शशिका कारण घरमा लामो समयदेखि विवाद चल्दै आएको थियो । शशिले दोस्रो विवाह गरेपछि विवाद झन् बढेको र पतिसहित घरका सबै सदस्यले रिङ्कुलाई सम्बन्धविच्छेद गर्न निरन्तर दबाब दिँदै आएका थिए ।

माइती पक्षले रिङ्कुलाई लामो समयदेखि पटक–पटक कुटपिट, गालीगलौज, मानसिक तथा शारीरिक यातना दिनुका साथै घर निकाला गरिदिने धम्की समेत दिने गरेको आरोप लगाएको छ ।

प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिँदै अन्य फरार अभियुक्तहरूको खोजी गर्नुका साथै घटनाको सत्यतथ्य पत्ता लगाउन कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्