९५८ जना मतदाताले चुन्नेछन् जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नेतृत्व

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि असार ७ गते हुने निर्वाचनमा ९५८ जना मतदाता सहभागी हुने भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीमा दाबीविरोध नपरेपछि ९५८ मतदाता कायम भएका हुन् ।
निर्वाचन कार्यक्रमअनुसार मंगलबार बिहान ११ बजे प्रकाशित प्रारम्भिक मतदाता नामावलीमाथि तोकिएको अवधिसम्म कुनै दाबीविरोध नपरेको हुँदा सबै मतदाता निर्वाचनमा सहभागी हुन पाउने गरी अन्तिम नामावली प्रकाशन गरिएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सरदचन्द्र भट्टराईले जानकारी दिए ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता असार ३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । उम्मेदवारमाथि दाबीविरोध सोही दिन दिउँसो ३ः३० बजेदेखि साँझ ५ बजेसम्म गर्न सकिने व्यवस्था गरिएको छ ।
यसैगरी उम्मेदवारी फिर्ता असार ४ गते बिहान १० बजेदेखि १२ बजेसम्म हुनेछ भने अन्तिम उम्मेदवारको नामावली सोही दिन दिउँसो १ बजे प्रकाशित गरिनेछ । नमूना मतपत्र पनि असार ४ गते साँझ ५ बजे सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
संघको नयाँ नेतृत्व चयनका लागि असार ७ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ । निर्वाचनबाट १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिनेछ ।







