‘आयोजना बैंक’ कार्यान्वयनमा ल्याउँदै जीतपुरसिमरा, असार ६ गतेभित्र योजना प्रविष्ट गर्न निर्देशन

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले ‘स्थानीय तह आयोजना बैंक’ लाई कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक बजेट तर्जुमा गर्ने तयारीस्वरूप मातहतका सबै निकायलाई असार ६ गतेभित्र आयोजना बैंकमा योजनाहरू प्रविष्ट गरिसक्न निर्देशन दिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०८२ को दफा १७ मा स्पष्ट व्यवस्था भएबमोजिम, अबदेखि आयोजना बैंकमार्फत छनौट भएका योजनाहरूमा मात्र बजेट विनियोजन गर्न पाइनेछ । योजना छनौट प्रक्रियालाई पारदर्शी, आवश्यकतामा आधारित र प्रणालीबद्ध बनाउन उपमहानगरपालिकाले यो कानुनी प्रबन्धलाई लागू गर्न लागेको हो ।
आयोजना बैंकलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनका लागि मंगलबार एक विशेष कार्यशालाको समेत आयोजना गरिएको छ। नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरू र सबै वडा सचिवहरूको उपस्थितिमा उक्त कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा आयोजना बैंकको महत्त्व र यसमा योजना प्रविष्टि गर्ने प्राविधिक तथा व्यावहारिक पक्षबारे छलफल भएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।

उपमहानगरपालिकाका अनुसार सबै महाशाखा/शाखा प्रमुखहरू, वडा सचिवहरू तथा नगर अस्पताललाई आगामी आर्थिक वर्षको बजेट सिलिङ पठाइसकिएको छ । प्राप्त सिलिङका आधारमा योजना तथा कार्यक्रमहरू असार ३ गते बिहान ११ बजेदेखिदेखि असार ६ गते बिहान ११:०० बजेभित्र अनिवार्य रूपमा प्रविष्टि गर्न असार २ गतेको प्रमुखस्तरीय निर्णयबाट निर्देशन दिइएको हो ।
नीति तथा कार्यक्रम यसअघि नै ल्याईसकेको उपमहानगरपालिकाले असार १० गते बजेट ल्याउने तयारी गरिरहेको छ । जसका लागि विभिन्न विषयगत समिति र योजना तर्जुमा समितिको बैठक बस्ने तयारी भईरहेको नगर प्रमुख पौडेलले बताए ।







