जीतपुरसिमरालाई औद्योगिक हब बनाउन र व्यवसायीको लगानी सुरक्षित गर्न मेरो उम्मेदवारी: सन्तोष कुशवाहा


eShilalekh

४ असार २०८३, बिहीबार १९:०४

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आगामी असार ७ गते हुने निर्वाचनको सरगर्मी निकै बढेको छ । उक्त निर्वाचनमा जीतपुरका सफल युवा व्यवसायी सन्तोष कुशवाहाले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेर उद्योगव्यवसायीसँग मत मागिरहेका छन् । सानो उमेरमै व्यवसायमा आफूलाई अब्बल सावित गरिसकेका कुशवाहा आम व्यवसायीमाझ निकै लोकप्रीय छन् । यसअघि २०७९ सालको मधेस प्रदेशसभा निर्वाचनमा ‘लौरो’ चुनाव चिन्ह लिएर ४२१७ मतका साथ चर्चा कमाएका कुशवाहा, अग्नी टायल्स एण्ड मार्बलका संचालक हुन् । उद्योग वाणिज्य संघको अघिल्लो निर्वाचनमा वाणिज्यतर्फको उपाध्यक्ष पदमा पराजित भए पनि उनले व्यवसायीहरूको पक्षमा काम गर्न छोडेनन् । औद्योगिक र व्यापारिक सम्भावना बोकेको जीतपुरसिमरा क्षेत्रको समग्र विकास र व्यवसायीका एजेन्डाहरूमा केन्द्रीत भई वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सन्तोष कुशवाहासँग निर्वाचन र उम्मेदवारीका सन्दर्भमा गरिएको कुराकानीको संक्षिप्त अंशः

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनमा यसपटक वरिष्ठ उपाध्यक्ष पदमा यहाँको उम्मेदवारी किन ?

जीतपुरसिमरा उपमहानगरपालिका देशकै एउटा प्रमुख औद्योगिक करिडोरमा पर्छ । यहाँ साना–ठूला गरी सयौं उद्योग, कलकारखानाहरू छन् । तर आजको मितिमा पनि हाम्रा उद्योगी, व्यापारी र व्यवसायी साथीहरूले आफ्नो लगानी सुरक्षित महसुस गर्न सक्ने पूर्ण वातावरण पाइरहनुभएको छैन । अघिल्लो निर्वाचनमा वाणिज्यतर्फको उपाध्यक्षमा पराजित भए पनि म निरन्तर व्यवसायीहरूको सुखदुःखमा साथमै रहे । अहिले उद्योगी र व्यवसायीहरूको हकहितको रक्षा गर्न, लगानीको सुरक्षा सुनिश्चित गर्न र यो क्षेत्रलाई आर्थिक हब बनाउन एउटा बलियो, युवा र प्रतिबद्ध नेतृत्वको आवश्यकता भएकाले मैले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

यस क्षेत्रमा ठूला उद्योग मात्र होइन, साना व्यवसायीहरू पनि ठूलो संख्यामा छन् । उनीहरूका लागि के गर्नुहुन्छ ?

पक्कैपनि उद्योग वाणिज्य संघ भनेको केवल ठूला उद्योगीहरूको मात्र संस्था होइन । जीतपुर, सिमरा, पथलैया, अमलेखगञ्ज, औराह, डुमरवानाका कुनाकाप्चामा रहेका साना किराना पसल, खुद्रा व्यापारी र होटल व्यवसायीहरू नै यो अर्थतन्त्रका मेरुदण्ड हुन् । उनीहरू धेरै मारमा परेका छन् । मेरा लागि साना व्यवसायी र ठूला उद्योगी दुवै समान हुन् । साना किराना र होटल व्यवसायीहरूको व्यवसाय प्रवर्द्धन गर्न, उनीहरूलाई सस्तो ब्याजदरमा कर्जा दिलाउन र कर प्रणालीलाई सहज बनाउन म ‘विशेष राहत तथा प्रवर्द्धन योजना’ ल्याउनेछु ।

यहाँले लगानी सुरक्षित गर्ने वातावरणको कुरा गर्नुभयो, यसका लागि तपाईंसँग के योजना छ ?

जीतपुरसिमरामा लगानीको प्रचुर सम्भावना छ । सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) तयारी अवस्थामा छ । तर, यहाँ नयाँ साना उद्योगहरू खुल्ने क्रम जारी रहे पनि लगानीकर्ताहरू ढुक्क हुन सकिरहेका छैनन् । व्यवसायीहरूले खोजेको मुख्य कुरा भनेकै लगानी सुरक्षित हुने वातावरण हो । म वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि स्थानीय प्रशासन, उपमहानगरपालिका र उद्योगीहरूबीच समन्वयकारी भूमिका खेल्नेछु । व्यवसायीमाथि हुने अनधिकृत झन्झटहरू अन्त्य गर्दै लगानीमैत्री नीति नियम बनाउन र कार्यान्वयन गराउन म सम्पूर्ण तागत लगाउनेछु ।

जीतपुरसिमराको भौगोलिक र रणनीतिक महत्वलाई व्यवसायिक रूपमा कसरी उपयोग गर्न सकिन्छ ?

हाम्रो नगरको भौगोलिक अवस्थिति नेपालकै उत्कृष्ट मध्येमा पर्छ । यो भारतको रक्सौल नाकाबाट मात्र आधा घण्टाको सडक दुरीमा छ, जसले गर्दा कच्चा पदार्थ आयात र तयारी वस्तु निर्यातका लागि निकै सहज छ । अर्कोतर्फ, काठमाडौंबाट सिमरा विमानस्थल मात्र १५ मिनेटको हवाई मार्गको दुरीमा छ । यो कनेक्टिभिटीलाई उपयोग गरेर हामीले यहाँ अझ ठूलो लगानी भित्राउन सक्छौं । सिमरा सेजलाई पूर्ण रूपमा संचालनमा ल्याएर देश तथा विदेशका लगानीकर्तालाई आकर्षित गर्ने र राष्ट्रिय गौरवका आयोजनाहरूसँग यसलाई जोड्ने मेरो मुख्य एजेन्डा रहनेछ ।

२०७९ को प्रदेशसभा निर्वाचनमा ‘लौरो’ चिन्ह लिएर सम्मानजनक ४२१७ मत पाउनुभयो र निकै चर्चा पनि कमाउनुभयो । त्यो अनुभवले यहाँ कसरी मद्दत गर्छ ?

हो, त्यसबेला प्रदेश ४(१) का आममतदाताले मलाई जुन माया र विश्वास देखाउनुभयो, त्यसका लागि म सदैव ऋणी छु । हार र जित प्राविधिक कुरा हो । प्रदेशसभा निर्वाचनको बेला कमाएको जनसम्पर्क र अनुभवलाई म यसपटक हाम्रा व्यवसायी साथीहरूको हकहितका लागि, उनीहरूको मुद्दा सरकारसम्म पुर्याउन र काम गराउन उपयोग गर्नेछु ।

अन्त्यमा, असार ७ गते मतदान गर्न गइरहनुभएका जीतपुरसिमराका उद्योगी तथा व्यवसायी मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?

म सम्पूर्ण आदरणीय उद्योगी, व्यापारी र व्यवसायीलाई हार्दिक अपिल गर्न चाहन्छु की उद्योग वाणिज्य संघलाई गफ गर्ने ठाउँ होइन, काम गर्ने थलो बनाउनु पर्छ । म सानै उमेरदेखि व्यवसायमा संघर्ष गरेर यहाँसम्म आएको व्यक्ति हुँ, त्यसैले तपाईंहरूको समस्या म राम्ररी बुझ्दछु । म कुरा होइन, काममा विश्वास गर्छु । व्यवसायी, व्यापारी र उद्योगीको पक्षमा निरन्तर र बिना स्वार्थ काम गर्ने मेरो दृढ प्रतिबद्धता छ । असार ७ गते हुने निर्वाचनमा मलाई वरिष्ठ उपाध्यक्ष पदमा अमूल्य मतदान गरी विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछु । तपाईंको एक भोटले यो क्षेत्रको व्यवसायिक सुरक्षा र समृद्धिको ग्यारेन्टी गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्