रौतहटमा ट्रर्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु, चालक नियन्त्रणमा

रौतहटः रौतहटको गढीमाई नगरपालिका २ समनपुर बजारस्थित गरुडा–समनपुर सडकखण्डमा ट्रर्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिका ४ सुन्दरपुरका ६० वर्षीय रामानन्द महरा रहेका छन् ।
समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्रर्याक्टरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार महरा गम्भीर घाइते भएका थिए । घाइते महरालाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा दिउँसो करिब १ः४५ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए ।
दुर्घटनामा संलग्न ट्रर्याक्टर चालक गरुडा नगरपालिका ५ का ३९ वर्षीय रामकिशुन यादवलाई नियन्त्रणमा लिएको छ भने मोटरसाइकल चालक फरार रहेका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार चालक यादवले मादक पदार्थ सेवन नगरेको र उनीसँग वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत रहेको छ । फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।







