सर्लाहीमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या


eShilalekh

७ असार २०८३, आईतवार १४:०३

सर्लाहीः सर्लाहीको बसबरिया गाउँपालिका २ मानपुर टोलमा शनिबार राति एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

स्थानीय ५० वर्षीय होसनारायण यादवलाई राति घरभित्र सुतिरहेकै अवस्थामा दुई जना अज्ञात व्यक्तिले प्रवेश गरी घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमका अनुसार हतियार प्रहारबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि बरहथवा ल्याउने क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै सर्लाही प्रहरी प्रमुख एवं एसपी रवीन्द्रनाथ पौडेल र बरहथवाका डिएसपी गोपीकृष्ण सुवेदीसहितको विशेष टोली घटनास्थल पुगेर विस्तृत अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीले तालिम प्राप्त कुकुर समेत घटनास्थल आसपासको क्षेत्रमा परिचालन गरेको छ ।

यसैबीच मृतक यादवको शवलाई पोस्टमार्टमका लागि आइतबार बिहान प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य तीव्रताका साथ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्