पूर्ण अधिकारबिनाको संघीयताले अपेक्षित परिणाम दिन सक्दैन : मन्त्री पटेल

सिमराः आमसञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा बाराको निजगढस्थित होटल तारा इनमा आयोजित ‘संघीयता सबलीकरणबारे समाचार लेखनसम्बन्धी दुई दिने आवासीय कार्यक्रम’ आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलले संघीयतालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन आवश्यक रहेको बताएका छन् । संविधानमार्फत संघीयता लागू भए पनि प्रदेश सरकारले अझै पूर्ण अधिकार प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।
मन्त्री पटेलले प्रदेशलाई संविधानले व्यवस्था गरेअनुसार अधिकार सम्पन्न बनाउन सके जनताले प्रत्यक्ष अनुभूति हुने गरी सेवा प्रवाह र विकासका काम प्रभावकारी रूपमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे । संघीयता केवल संरचना निर्माणमा सीमित नरही व्यवहारिक कार्यान्वयनमा जानुपर्नेमा उनले जोड दिए ।

यसैगरी कार्यक्रमका मुख्य प्रशिक्षक तथा राष्ट्रिय सभाका पूर्व सदस्य डा. खिमलाल देवकोटाले संघीयतालाई सबल र प्रभावकारी बनाउन सञ्चारकर्मी तथा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए । उनले संघीय शासन प्रणालीका उपलब्धि, चुनौती र आवश्यकताबारे तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्गाले संघीयताको सफल कार्यान्वयनका लागि सञ्चार क्षेत्रको योगदान महत्त्वपूर्ण हुने बताए। उनले जनतामा संघीयताप्रति सही बुझाइ विकास गर्न सञ्चारमाध्यमले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले संघीयताको विषयलाई अझ गहिराइका साथ जनस्तरसम्म पुर्याउन पत्रकारहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा डा. देवकोटोसहित संविधानसभा सदस्य प्रल्हाद लामिछाने, डा. विनय मिश्रले प्रशिक्षण दिएका थिए ।
संघीयतासम्बन्धी विषयमा पत्रकारहरूको ज्ञान, क्षमता र समाचार लेखन सीप अभिवृद्धि गर्दै संघीय शासन प्रणालीका उपलब्धि, चुनौती तथा आवश्यकताबारे नागरिकलाई तथ्यपरक सूचना प्रवाह गराउने उद्देश्यसहित आमसञ्चार प्राधिकरणले मधेस प्रदेशमा कार्यक्रमको आयोजना गरेको हो ।







