जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्ष गजेन्द्रकुमार गुप्ता बिजयी

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी गजेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनमा गुप्ता लोकप्रिय मतसहित निर्वाचित भएका हुन् ।
गुप्ताले पाँच सय २९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार मनोजकुमार गुप्ताले एक सय ९९ मत प्राप्त गरेका छन् । गजेन्द्र तीन सय ३० मतको मतान्तरले बिजयी भएका हुन् ।
यसैगरी संघको पदाधिकारीमा गजेन्द्र नेतृत्वको प्यानलले क्लिन स्वीप गरेको छ । वरिष्ठ उपाध्यक्ष पदमा शिवजी प्रसाद साह सोनार निर्वाचित भएका छन् । सोनारले पाँच सय दुई मत प्राप्त गर्दा अर्का उम्मेदवार सन्तोष कुशवाहाले एक सय ९५ मत पाएका छन् ।
वाणिज्यतर्फको उपाध्यक्षमा रामबाबु कलवार पाँच सय ११ मतसहित बिजयी भएका छन् । उक्त पदका अर्का उम्मेदवार प्रमोद साह तेलीले एक सय ११ मत ल्याएका छन् ।
महासचिवमा पुनः दोस्रो पटक प्रकाश गिरी निर्वाचित भएका छन् । उनले पाँच सय १२ मत ल्याउँदा अर्का उम्मेदवार सुशील शर्माले एक सय ८८ मत पाएका छन् ।
कोषाध्यक्षमा रिना रौनियार पुरी निर्वाचित भएकी छन् । उनले चार सय १२ मत प्राप्त गरिन् । कोषाध्यक्ष पदका अर्का उम्मेदवार विन्देश्वरी प्रसाद साह कलवारले दुई सय ६७ मत पाएका छन् ।
वाणिज्यतर्फको सचिवमा रिता कंडेल दुई सय ९७ मतसहित बिजयी भएकी छिन् । उक्त पदका अर्का उम्मेदवार प्रदीप कुमारले एक सय ७६ मत प्राप्त गर्दा एकल उम्मेदवारी दिएकी शान्ताकुमारी बजगाईं (रिना) ले एक सय ३६ मत ल्याएकी छिन् ।
वाणिज्यतर्फको सदस्य पदमा अमरेन्द्रकुमार साह कलवार चार सय ३९, विभा गुप्ता चार सय २५, मुकुन्द रिजाल तीन सय ९३, बलराम पौडेल तीन सय ५८, बिजयकुमार गुप्ता तीन सय ४९, नवरतनप्रसाद कलवार तीन सय ४२ र मनोहरबाबु गुप्ताले तीन सय ११ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
नेतृत्व चयन अन्तर्गत ६ पदाधिकारी र सात सदस्य पदका लागि आइतबार भएको मतदानमा सात सय ६२ मत खसेको थियो । उक्त निर्वाचनको मतगणना सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत सरदचन्द्र भट्टराई जानकारी दिए ।
यसअघि दुई पदाधिकारी र पाँच सदस्य निर्विरोध निर्वाचित भएका थिए । मनोनयनका क्रममा तोकिएको भन्दा बढी उम्मेदवारी नपरेपछि उद्योगतर्फको उपाध्यक्षमा बिजयकुमार साह, उद्योग सचिवमा मुकेशप्रसाद साह, उद्योग सदस्यमा ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता, राजेशकुमार प्रसाद साह, एशोसियट सदस्यमा हिमांशु गोल्छा, वस्तुगत सदस्यमा सूर्यप्रसाद त्रिपाठी यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् ।







