परवानीपुर गाउँपालिकाले ल्यायो ३६ करोड ६३ लाखको बजेट

सिमराः बाराको परवानीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबार आयोजित गाउँपालिकाको १८औं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष सुगान्धी देवी कनुइनले बजेट सार्वजनिक गरेकी हुन् ।
बजेट सार्वजनिक गर्नुअघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, पूर्वाधार विकास, सरसफाइ, आर्थिक विकास तथा प्रभावकारी सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाभित्र निर्माणाधीन तथा अधुरा रहेका विद्यालय भवन निर्माण कार्य सम्पन्न गरिने, करसम्बन्धी सेवा गाउँपालिकाबाटै उपलब्ध गराइने, भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह गरिने तथा वडा नम्बर १ मा नदी नियन्त्रणको काम सम्पन्न गरिने उल्लेख गरिएको छ ।
गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीबीच सहकार्य आवश्यक रहेको बताए । उनले समग्र विकास, सुशासन तथा नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम ल्याइएको उल्लेख गरे ।
कुर्मीको अध्यक्षतामा सम्पन्न गाउँसभामा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी तथा नेकपा एमालेका नेता उमेश गुप्तालगायतको सहभागिता रहेको थियो ।







