बाख्रालाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

रौतहटः रौतहटको गुजरा नगरपालिका ५ हरिहरपुर टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छन् ।
बुधबार साँझ कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले सडकमा रहेको बाख्रालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका ५ का २३ वर्षीय आमोद चौधरी र पछाडि सवार २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारका लागि चन्द्रपुर अस्पताल लगिएको थियो ।
उपचारका क्रममा दिपेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
घाइते आमोद चौधरीको अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







