सपथलगत्तै अध्यक्ष गुप्ताले गरे ९५७ व्यवसायीको दुर्घटना बीमा सम्झौता

सिमराः जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन् । निर्वाचन प्रक्रियाबाट गत सोमबार निर्वाचित पदाधिकारी तथा सदस्यले सपथका साथ पदभार ग्रहण गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत सरदचन्द्र भट्टराईले कार्यसमितिलाई सपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका हुन् । निर्वाचनबाट संघको अध्यक्ष गजेन्द्रकुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष शिवजी प्रसाद साह सोनार, वाणिज्य उपाध्यक्ष रामबाबु कलवार, उद्योग उपाध्यक्षमा बिजयकुमार साह, महासचिवमा प्रकाश गिरी, कोषाध्यक्षमा रिना रौनीयार पुरी, वाणिज्य सचिवमा रिता कंडेल, उद्योग सचिवमा मुकेशप्रसाद साह निर्वाचित भएका थिए ।
यसैगरी सदस्यमा वाणिज्यतर्फ अमरेन्द्रकुमार साह कलवार, विभा गुप्ता, मुकुन्द रिजाल, बलराम पौडेल, बिजयकुमार गुप्ता, नवरतनप्रसाद कलवार, मनोहरबाबु गुप्ता बिजयी हुँदा उद्योग सदस्यहरूमा ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता, राजेशकुमार प्रसाद साह, एसोसियट सदस्यमा हिमांशु गोल्छा तथा वस्तुगत सदस्यमा सूर्यप्रसाद त्रिपाठी निर्विरोध निर्वाचित भएका थिए ।
सपथ ग्रहणलगत्तै अध्यक्ष गुप्ताले अधिवेशनका लागि नविकरण गराएका ९ सय ५७ व्यवसायीको एक लाखको दुर्घटना बीमा गरेका छन् । गुप्ताले सगरमाथ लुम्बिनी इन्स्युरेन्स कम्पनीसँग बीमा सम्झौता गरेका हुन् ।
सपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछाने, पूर्वअध्यक्ष सञ्जय साहलगायत सहभागी थिए ।







