दुई बालिकाको मृत्यु भएपछि उपमहानगरपालिकाले पुनः थाल्यो सर्पदंश उपचार केन्द्रको पहल


eShilalekh

१२ असार २०८३, शुक्रबार १६:१२

सिमराः सर्पदंशका कारण एकै साता दुई बालिकाको मृत्यु भएपछि उपमहानगरपालिकाले नगर अस्पतालमा सर्पदंश उपचार सेवा सुरु गर्न केन्द्र सरकारसँग आकस्मिक पहल थालेको छ ।

उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत रवि कुमार भाष्करले शुक्रबार काठमाडौंको सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र टेकुस्थित इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई छुट्टाछुट्टै पत्र लेख्दै सेवा सञ्चालनका लागि आवश्यक मार्गदर्शन, सहयोग, सहजीकरण र समन्वय गरिदिन अनुरोध गरेका हुन् ।

पर्सा राष्ट्रिय निकुञ्ज र वनजंगलसँग जोडिएका कारण जीतपुरसिमराका सहरी तथा ग्रामीण क्षेत्रहरूमा गर्मीयाममा सर्पदंश घटना बढी हुने गरेको छ । तर जीतपुरसिमरा नगर अस्पतालमा सर्पदंशको उपचार सेवा उपलब्ध नहुँदा पीडित नगरबासी आकस्मिक सेवाका लागि अन्यत्र धाउनुपर्ने बाध्यतामा छन् । जसका कारण समयमै उपचार नपाउँदा ज्यान जाने गरेको छ ।

यसै साता मात्रै जीतपुरसिमरा-१४ मौलापुरकी पाँच वर्षीया दियान्सी रानामगर र असार ८ गते जीतपुरसिमरा-१५ डाँडाटोलकी चार वर्षीया सुप्रिना दोङको सर्पको डसाइबाट मृत्यु भएपछि नगर अस्पतालमा उपचार सेवा नभएको भन्दै चर्को आलोचना भईरहेको छ ।

सामाजिक सञ्जालमा सेवा संचालन गर्न ढिला गरेको भन्दै जनप्रतिनिधिमाथि आलोचना गर्न सुरु भएको हो । तर उपमहानगरपालिकाले भने लामो समयदेखि सेवा सञ्चालनका लागि अनुमति माग गर्दै आएको छ ।

उपमहानगरपालिकाले यसअघि २०८० साल पुषमा पनि टेकुस्थित इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पत्र लेखेर सेवा संचालनका लागि अनुमति माग गरेको थियो । तर पूर्वाधार अभाव र दक्ष जनशक्तिको कारण देखाउँदै अनुमति नपाएको गुनासो जनस्वास्थ्य अधिकृत भाष्करले गरेका छन् ।

जीतपुरसिमरामा यो सेवा सञ्चालनका लागि विगतमा पनि प्रयासहरू नभएका भने होईनन् । संस्थापक नगर प्रमुख स्वर्गीय डा. कृष्ण पौडेलले आफ्नो कार्यकालको पहिलो वर्षमै प्राथमिकतामा राखेर नेपाली सेनाको २८ नम्बर बाहिनीसँगको सहकार्यमा भवन समेत निर्माण गराएका थिए । तर आवश्यक कानुनी अनुमति र औषधिको सुनिश्चितता नहुँदा विगतमा यो सेवा उपमहानगरले सुरु गर्न सकेको छैन ।

पछिल्लो एक हप्तामा दुई घटना भएपछि उपमहानगरपालिकाले पुनः पत्र लेखेको हो । उपमहानगरले हाल नगर अस्पतालमा २४सै घण्टा चिकित्सकसहितको आकस्मिक उपचार सेवा, अक्सिजन, पोर्टेबल भेन्टिलेटर, एम्बुलेन्स, २४सै घण्टा फार्मेसी र ल्याब सेवा जस्ता सम्पूर्ण भौतिक पूर्वाधारहरू तयारी अवस्थामा रहेकाले सर्पदंशको उपचार तुरुन्तै सुरु गर्न सकिने अवस्था रहेको पत्रमा स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्