नेपाल–भारत सीमामा दुई किलो अफिमसहित तीन जना पक्राउ

सिमराः बारासँग सीमा जोडिएको नेपाल–भारत सीमामा दुई किलो अफिमसहित दुई नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको लंगडा चोकका ४० वर्षीय दिनेश राम, ४१ वर्षीय सोना लाल पासवान र भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, जितना थाना क्षेत्रअन्तर्गत भवानीपुर गाउँका ४० वर्षीय लालबाबु सिंह रहेका छन् ।
सशस्त्र सीमा बल (एसएसबी) ७१ बटालियनको गोप्य सूचनाका आधारमा शनिबार अपराह्न एसएसबीको कोरैया क्याम्प, ७१ बटालियन मोतिहारी र महुआवा प्रहरीको संयुक्त टोलीले भारतको पूर्वी चम्पारणस्थित सीमा स्तम्भ नम्बर ३८१ नजिक संयुक्त अपरेसन सञ्चालन गरेको थियो ।
नेपाल–भारत सीमाबाट करिब १५० मिटर भारतीय भूभागभित्र रहेको उक्त स्थानमा नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा प्याकिङसहित करिब दुई किलो अफिम र एउटा हिरो होन्डा मोटरसाइकलसहित दिनेश राम र सोना लाललाई नियन्त्रणमा लिइएको एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट विश्वजित तिवारीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त तस्करीमा लालबाबुको समेत संलग्नता खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
बरामद अफिम, मोटरसाइकल तथा पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि महुआवा प्रहरीको जिम्मा लगाइएको एसएसबीका प्रवक्ता बिनित कुमार सिंहले बताएका छन् ।







