जीतपुरसिमरा २२ मा नयाँ प्रशासकीय भवन उद्घाटन


eShilalekh

१४ असार २०८३, आईतवार १२:५६

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ मा आधुनिक सुविधासहित निर्माण गरिएको नयाँ प्रशासकीय भवनको औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले एक विशेष समारोहका बीच संयुक्त रूपमा रिबन काटेर तथा शिलालेख अनावरण गरी उक्त भवनको उद्घाटन गरेका हुन् ।

उपमहानगरपालिकाका अनुसार करिब ४० लाख रुपैयाँको लागतमा पाँच कोठा रहेको उक्त भवन निर्माण गरिएको हो । नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयबाट प्रदान गरिने प्रशासनिक सेवाहरू अझ व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बन्ने अपेक्षा स्थानीय सरकारले राखेको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राजन पौडेलले स्थानीय सरकारको सफलता नागरिकले पाउने सेवाको गुणस्तरबाट मापन हुने बताए । नयाँ भवनले कर्मचारीलाई कार्यसम्पादनमा सहजता प्रदान गर्नुका साथै सेवाग्राहीलाई पनि अनुकूल वातावरणमा सेवा प्राप्त गर्ने अवसर दिने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी उपप्रमुख अधिकारीले स्थानीय तहको सेवा प्रवाहलाई पारदर्शी, प्रविधिमैत्री र नागरिकको आवश्यकताअनुसार प्रभावकारी बनाउने प्रयास निरन्तर जारी रहेको स्पष्ट पार्दै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुनु स्थानीय सरकारको महत्वपूर्ण उपलब्धि भएको धारणा राखेका छन् ।

वडा नं. २२ का अध्यक्ष शेखरकाजी रुम्बाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, उपमहानगरपालिकाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाहरूले नयाँ र सुविधायुक्त भवन सञ्चालनमा आएसँगै अब वडा कार्यालयबाट प्राप्त हुने दैनिक प्रशासनिक सेवाहरू अझ छरितो, व्यवस्थित र सहज रूपमा उपलब्ध हुने भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्