मुसहर बस्तीपछि राजी राणाको अर्को परोपकारी अभियान, सिमरामा फुटबल एकेडेमी

सिमरा: मुसहर समुदायका लागि बस्ती निर्माण गरेर सामाजिक सेवामा उदाहरण प्रस्तुत गरेकी समाजसेवी राजी राणाले अब खेलकुद क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान दिएकी छन्। उनले शनिबार बाराको सिमरामा निर्माण सम्पन्न प्रभुराजी एनजेजेवाईसी फुटबल एकेडेमी भवनको उद्घाटन गरेकी छिन् ।
करिब एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण भएको सुविधासम्पन्न एकेडेमीको उद्घाटनपछि भवनको निरीक्षण गर्दै राणाले खेलकुदको विकासका लागि आवश्यक थप सहयोग गर्न आफू तयार रहेको संकेत गरिन् । उनले क्लका पदाधिकारीसँग कुरा गर्दै अन्य आवश्यकताको विषयमा जानकारी लिएकी थिईन् ।

सिमराकी राजी राणा सामाजिक सेवामा परिचित नाम हुन् । मुसहर बस्ती निर्माणदेखि खेलकुद, खानेपानी, शिक्षा तथा विपन्न समुदायको सहयोगसम्म उनले विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी छन् । स्थानीयका अनुसार उनी प्रचारमुखीभन्दा परिणाममुखी सामाजिक कार्यमा विश्वास गर्ने व्यक्तित्वका रूपमा परिचित छिन् ।
उनले स्थापना गरेको प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठी मार्फत सरकारी कार्यालय, बजार क्षेत्र तथा मन्दिर परिसरमा सर्वसाधारणका लागि चिसो र शुद्ध पिउने पानीको व्यवस्था पनि गरिएको छ । यो गुठी राजी राणा र उनको श्रीमान् प्रभु शमशेर जबराको नाममा स्थापित छ । प्रभु शमशेर जबराको निधनपछि गुठीलाई अझ सक्रिय बनाउँदै सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै आएकी छन् ।
उमेर बढ्दै गए पनि राजी राणाको सामाजिक उत्तरदायित्व र सेवाभाव अझ सशक्त बन्दै गएको देखिन्छ । उनी गुठीमार्फत हुने लगानी नागरिकले प्रत्यक्ष लाभ लिने र दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा केन्द्रित हुनुपर्ने धारणा राख्दै आएकी छन् । विपन्न तथा आर्थिक समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै समुदायको आवश्यकता अनुसारका योजनामा उनी निरन्तर सक्रिय रहने गरेकी छन् ।

यसअघि २०८० साल असोजमा राणाले जीतपुरसिमरा उपमहानगरपालिका-६ मा २० मुसहर परिवारका लागि व्यवस्थित आवाससहितको मुसहर बस्ती निर्माण गराएकी थिइन् । उक्त बस्तीको पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यहरूले अवलोकन गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह सिमरा भ्रमणका क्रममा राजी राणाको निवासमा बस्ने गरेका छन् ।
मुसहर बस्ती निर्माणपछि फुटबल एकेडेमी स्थापना गरेर राजी राणाले सामाजिक विकाससँगै खेलकुद क्षेत्रको पूर्वाधार विस्तारमा समेत आफ्नो योगदानलाई निरन्तरता दिएकी छन् ।







