सिरहामा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु


eShilalekh

२८ असार २०८३, आईतवार १८:३६

सिरहा: सिरहाको गोलबजार नगरपालिका–७ मा एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । गोलबजार–७ स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा आइतबार दिउँसो उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र सात वर्षीया छोरा साइफुल शेख । रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका शेख लामो समयदेखि गोलबजार नगरपालिका-७ मा परिवारसहित भाडाको कोठामा बस्दै आएका थिए ।

शेखका पाँच सन्तानमध्ये तीन जना आइतवार दिउँसो घर नजिकै खेल्न निस्किएका थिए । खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरमा पशुहरूलाई पानी खुवाउन बनाइएको खाल्डोमा पुगेका थिए । उक्त खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा तीनै जना बालबालिका अचानक डुबेका हुन् ।

घटनाको जानकारी पाएलगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले बालबालिकाहरूको तत्काल उद्धार गरेका थिए । उनीहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्