कलैयामा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु


eShilalekh

२९ असार २०८३, सोमबार १४:०४

सिमराः बाराको कलैया उपमहानगरपालिका ११ घोघरियामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी पासवानको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार घर नजिकैको पोखरीमा नुहाउने क्रममा उनी अचानक डुबेर गम्भीर घाइते भएकी थिइन् । पोखरीमा डुबेकी बालिकालाई तत्कालै उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइएको भए पनि चिकित्सकले साँझ ७ः१० बजे उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी नायब निरीक्षक विमलेश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनाको कानुनी प्रक्रिया र थप छानबिनका लागि जिल्ला प्रहरी कार्यालय, बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वमा सोको (फरेन्सिक वा वैज्ञानिक प्रमाण संकलन गर्ने टोली )सहितको मुचुल्का टोली समेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

मृतक बालिकाको शव हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामै राखिएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्