प्राविधिक त्रुटिपछि बारामा नयाँ राहदानी सेवा स्थगित

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले नयाँ राहदानी प्रणालीमार्फत सेवा प्रवाह गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि राहदानीसम्बन्धी सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।
राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आजदेखि नयाँ राहदानी प्रणाली लागू गरेको थियो । तर, प्रणाली सञ्चालनको सुरुवाती चरणमै गम्भीर प्राविधिक त्रुटि देखा परेपछि राहदानी आवेदन दर्ता, लाइभ इनरोलमेन्ट, बायोमेट्रिक संकलन तथा डाटा प्रोसेसिङ लगायतका सम्पूर्ण कार्यहरू पूर्ण रूपमा बन्द गर्नु परेको कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
हाल राहदानी विभागको प्राविधिक टोलीले उक्त समस्या समाधान गरी नयाँ प्रणालीलाई यथाशीघ्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक कार्य गरिरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
प्राविधिक समस्या समाधान भई प्रणाली पूर्ण रूपमा सुचारु हुनेबित्तिकै कार्यालयको आधिकारिक फेसबुक पेज, वेबसाइट तथा सूचना पाटीमार्फत सेवाग्राहीहरूलाई जानकारी गराइनेछ ।
नयाँ प्रणाली कार्यान्वयनका क्रममा अचानक उत्पन्न भएको यस प्राविधिक समस्याका कारण सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गर्दै धैर्यता र सहयोगका लागि अनुरोध गरेको छ ।
साथै राहदानी सेवासम्बन्धी थप जानकारी वा आवश्यक सहजीकरणका लागि राहदानी विभाग तथा जिल्ला प्रशासन कार्यालय बाराले उपलब्ध गराएका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।








