मिटरब्याज पीडितसँगको दोस्रो चरणको छलफल सकियो, बुधबार १२ बजे पुनः छलफल हुने


eShilalekh

३० असार २०८३, मंगलवार २२:४४

निजगढ: जनकपुरबाट पैदल काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरूलाई भेट्न बाराको निजगढ आएका गृहमन्त्री सुधन गुरुङ र पीडितहरूबीचको दोस्रो चरणको रात्रिकालीन छलफल सकिएको छ । राति ८ बजेदेखि सुरु भएको उक्त छलफल सकिएसँगै गृहमन्त्री गुरुङ सिमरा फर्किएका छन् ।

अब दुवै पक्षबीच बुधबार दिउँसो १२ बजे पुन: वार्ता बस्ने तय भएको छ । यसअघि दिउँसो करिब ६ घण्टा पीडितका समस्या सुनेर सुरक्षा अधिकारीहरूसँगको विशेष छलफलका लागि बाहिरिएका गृहमन्त्री गुरुङ राति ८ बजेपछि फेरि पीडितहरू राखिएकै स्थानमा पुगेका थिए ।

दोस्रो चरणको यो संवादबाट पीडितहरूको आन्दोलन र यात्राबारे ठोस निर्णय आउने अनुमान गरिए पनि छलफललाई बुधबारसम्मका लागि सारिएको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको संयोजकत्वमा बसेको बैठकले गरेको ८ बुँदे निर्णयलाई अध्ययन गरी पुनः बस्नेगरी छलफल स्थगित भएको बुझिएको छ ।

यसअघि दिउँसोको छलफलमा अधिकांश पीडितले सुरक्षा निकाय र न्यायालयबाट न्याय पाउन नसकेको गुनासो गरेपछि गृहमन्त्री गुरुङले सोही स्थानबाटै पीडित र पीडकको विवरण तत्काल संकलन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले पीडितहरूमार्फत मिटरब्याजमा संलग्न व्यक्तिहरूको विवरण सङ्कलन गर्ने कार्य समेत सुरु गरिसकेको छ । यस्तै मन्त्री गुरुङले मिटरब्याजको समस्या दीर्घकालीन रूपमा नियन्त्रण गर्न आवश्यक ऐन निर्माण गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

पीडितको कुरा सुनेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमा ब्रिफिङ गर्दै आन्दोलनको अवस्था र आगामी कदमबारे छलफल गरेका थिए । उनले साँझ सिमरामा सुरक्षा निकायका प्रमुखहरूसँग मिटरब्याज सम्बन्धी मुद्दा र सुरक्षा संवेदनशीलताको विषयमा छलफल गर्दै निर्देशन समेत दिएका थिए ।

न्यायको माग गर्दै जनकपुरबाट दुई सय २० जनाभन्दा बढी मिटरब्याज पीडितहरू गत असार २५ गते पैदल यात्रामा निस्किएका थिए । सोमबार साँझ निजगढ आइपुगेका उनीहरूलाई स्थानीय उद्योग वाणिज्य संघको भवनमा राखिएको छ । बुधबार मध्याह्न १२ बजे हुने भनिएको अर्को चरणको वार्ताले पीडितहरू जनकपुर फर्कने वा काठमाडौंतर्फकै यात्रा तय गर्ने भन्ने विषयको टुंगो लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्