निर्धारित समयभन्दा ८ घण्टा ढिलो निजगढ आईपुगे गृहमन्त्री, मिटरब्याज पीडितसँग छलफल सुरु


eShilalekh

३१ असार २०८३, बुधबार २०:५२

निजगढ: जनकपुरबाट पैदल हिँडेर काठमाडौंका लागि प्रस्थान गरेका मिटरब्याज पीडितहरूसँग वार्ताका लागि गृहमन्त्री सुधन गुरुङ बुधबार राति करिब ८ बजेमात्रै बाराको निजगढ आईपुगेका छन्।

बुधबार मध्याह्न १२ बजे वार्ता बस्ने कार्यतालिका तय भए पनि गृहमन्त्री निर्धारित समयभन्दा करिब ८ घण्टा ढिलो गरी मात्रै निजगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा प्रवेश गरेका हुन्। गृहमन्त्रीको प्रतीक्षामा निजगढमा चार सय भन्दा बढी मिटरब्याज पीडितहरू दिनभर व्यग्रताका साथ छटपटाइरहेका थिए।

मध्याह्न १२ बजे पीडितहरूसँग बस्ने भनिएको वार्तालाई थाती राखेर गृहमन्त्री गुरुङ दिनभर बारा र पर्साका विभिन्न गतिविधि तथा निरीक्षणमा व्यस्त रहे । सिमरास्थित क्लासिक होटलमा बास बसेका गृहमन्त्रीले बुधबार बिहान युवाहरूसँग भेटघाट गरेका थिए। त्यसपछि उनी हुलास स्टील र जगदम्बा स्टील लगायतका उद्योगहरूबाट निस्कने प्रदूषणको स्थलगत निरीक्षणमा निस्किएका थिए ।

निरीक्षणलगत्तै उनी पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको ऐतिहासिक भाठा मन्दिरको दर्शन गर्न पुगे । त्यहाँबाट परवानीपुर हुँदै पथलैया आइपुगेका गृहमन्त्रीले एक होटलमा खाजा खाँदै एक घण्टाभन्दा बढी समय बिताए । यसरी दिनभरिका दौडधुप सकाएर उनी राति मात्रै वार्तास्थल निजगढ आइपुगेका हुन् ।

गत असार २५ गते जनकपुरको तिरहुतिया गाछीबाट ‘पैदल न्याय मार्च’ सुरु गरेका मिटरब्याज पीडितहरू सोमबार साँझ निजगढ आइपुगेका थिए । मंगलबार दुई चरणमा भएको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि बुधबारको वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

यसअघि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको संयोजकत्वमा तयार भएको ८ बुँदे निर्णय र पीडितहरूका ६ बुँदे मागका विषयमा दुवै पक्षबीच गम्भीर छलफल हुने बताइएको छ । गृहमन्त्री गुरुङले यसअघि नै पीडित र पीडकको विवरण तत्काल सङ्कलन गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् भने समस्याको दीर्घकालीन समाधानका लागि ऐन निर्माण गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

गृह प्रशासन र पीडित पक्षबीच राति सुरु भएको संवादले पीडितहरूको आन्दोलन र पैदल यात्रा कता मोडिने भन्ने विषयको ठोस टुङ्गो लगाउने छ। सहमति जुटेमा पीडितहरू निजगढबाटै जनकपुर फर्कने छन् भने सहमति नभए उनीहरूको पैदल यात्रा काठमाडौंतर्फ नै अघि बढ्ने छ।

प्रतिक्रिया दिनुहोस्