हेलमेट नलगाई स्कुटर चलाउने स्वास्थ्य कर्मचारीलाई ट्राफिक प्रहरीले गर्यो कारबाही

सिमराः पर्साको छिपहरमाई गाउँपालिकाका स्वास्थ्य कर्मचारी दीपनारायण प्रसाद साह ट्राफिक कारबाहीमा परेका छन् । गृहमन्त्री सुधन गुरुङको टोलीले हेलमेट नलगाई स्कुटर चलाइरहेको अवस्थामा फेला पारेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बिहीबार उनलाई कारबाही गरेको हो ।
पर्साको भाठा मन्दिरबाट ग्रामीण सडकमार्ग हुँदै सिमरातर्फ आईरहेका गृहमन्त्री गुरुङसहितको सुरक्षाकर्मीको टोलीले साहलाई बिना हेलमेट स्कुटर चलाइरहेको अवस्थामा भेट्टाएको थियो । साह जिराभवानी गाउँपालिका ५ शंकरसरैया स्वास्थ्य चौकीका कर्मचारी हुन् ।
हेल्मेट नलगाई स्कुटर चलाईरहेको देखेपछि गृहमन्त्रीसहितको टोलीले गाडी रोकेर उनलाई सोधपुछ गरेको थियो । गृहमन्त्रीसँगै रहेका नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेत र बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले साहलाई हेलमेट नलगाउनुको कारण सोधेका थिए ।
सोधपुछका क्रममा साहले गाउँघरमा यसरी नै हिँड्ने गरेको भन्दै जवाफ दिएका थिए । सो समयमा उनलाई अनिवार्य हेलमेट लगाउन र ट्राफिक नियमको पालना गर्न सुझाव दिएर टोली निस्केको थियो ।
ट्राफिक नियम उल्लंघन गर्ने स्वास्थ्य कर्मचारी साहलाई जिल्ला ट्राफिक कार्यालय पर्साले बिहीबार नियमअनुसार कारबाही गरेको हो ।







