सरकारी टोलीसँग वार्ता गर्न मिटरब्याज पीडितको वार्ता टोली काठमाडौं प्रस्थान

सिमरा: जनकपुरबाट ‘पैदल न्याय मार्च’ सुरु गरी काठमाडौंतर्फ अघि बढिरहेका मिटरब्याज पीडित र सरकारबीच अब काठमाडौंमा औपचारिक तथा निर्णायक वार्ता हुने भएको छ । बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङसँग भएका तीन चरणका छलफल निष्कर्षमा नपुगेपछि दुवै पक्षले वार्ता टोली गठन गर्दै काठमाडौंमा संवादलाई अगाडि बढाउने निर्णय गरेका हुन् ।
सरकारले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेका छन्। सरकारी वार्ता टोली गठनका लागि गृहमन्त्री गुरुङले सहजीकरण गरेका थिए ।
सरकारले वार्ताको औपचारिक प्रक्रिया अघि बढाएसँगै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालले पनि पाँच सदस्यीय वार्ता टोली घोषणा गरेको छ । केन्द्रीय अध्यक्ष अवधेश कुश्वाहाको संयोजकत्वमा गठित टोलीमा महासचिव मनोजकुमार पासमान, प्रवक्ता रिजन राना मगर, हेडक्वाटर सदस्य लक्ष्मी घिमिरे र किरण परियार सदस्य रहेका छन् । वार्ता प्रक्रियाको रोहबरमा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नबिन रहने जनाइएको छ ।
पीडित पक्षको वार्ता टोली बिहीबार सिमरा विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौं प्रस्थान गरेको छ । हेडक्वाटर सदस्य घिमिरेका अनुसार टोली निर्णायक वार्ताका लागि काठमाडौं जान लागेको हो । टोलीलाई गृहमन्त्री गुरुङले सिमरा विमानस्थल पुगेर बिदाइ गरेका थिए ।
पीडितहरूले सरकारसमक्ष फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, न्यायाधिकरण तथा विशेष संयन्त्र गठन, मिटरब्याजीको सम्पत्ति छानबिन, पीडितको सम्पत्ति फिर्ता तथा सुरक्षा र न्यायपूर्ण आर्थिक कारोबारको सुनिश्चिततासहितका माग प्रस्तुत गरेका छन् ।
गत असार २५ गते जनकपुरको तिरहुतिया गाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ सोमबार साँझ बाराको निजगढ पुगेको थियो । काठमाडौंसम्म पैदल यात्रा जारी राख्ने तयारीमा रहेका आन्दोलनकारीलाई निजगढमा रोक्दै वार्ताका लागि गृहमन्त्री गुरुङ मंगलबार निजगढ आइपुगेका थिए। मंगलबार र बुधबार गरी तीन चरणमा भएको छलफल निष्कर्षमा नपुगेपछि आन्दोलन अन्योलमा परेको थियो ।
पीडित पक्षको बिहीबार बिहान बसेको सचिवालय बैठकले वार्ता टोली गठन गरेसँगै अब वार्ता काठमाडौं केन्द्रित हुने भएको छ। यद्यपि काठमाडौं वार्ताका लागि प्रतिनिधिमण्डल गए पनि पैदल यात्रा गरिरहेका अन्य मिटरब्याज पीडितहरू भने हाल निजगढमै बस्नेछन् । सरकारी टोलीसँगको वार्तापछि उनीहरूको आगामी यात्राबारे निर्णय गरिने आन्दोलन पक्षले जनाएको छ ।







