हुलास स्टीलसहित दुई उद्योगले तिरेनन् जरिवाना, नन्दनले घ्युले बुझायो अढाई लाख


eShilalekh

४ श्रावण २०८३, सोमबार २१:५०

सिमराः वातावरण प्रदुषण गरेको भन्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिकाद्धारा कारवाही गरिएका हुलास स्टीलसहित तीन ठूला उद्योगमध्ये एउटाले मात्रै सोमबार जरिवाना बुझाएको छ । जीतपुरसिमरा-३ स्थित नन्दन घि एण्ड आयल ईण्डष्ट्रिजले दुई लाख ५० हजार जरिवाना बुझाएको हो ।

उद्योग प्रशासनले सोमबार उपमहानगरपालिकाको नेपाल बैंकस्थित राजश्व खातामा जरिवाना रकम दाखिला गरेको वातावरण शाखा प्रमुख इन्जिनियर पुष्पा सिंहले जानकारी दिएकी छिन् । नन्दनले जरिवाना तिर्दा जीतपुरसिमरा-१ स्थित हुलास स्टील ईण्डष्ट्रिज र जीतपुरसिमरा-३ स्थित गणपति वनस्पति लिमिटेडले भने आलटाल गरेको छ ।

सात दिनको समय दिएर उपमहानगरपालिकाले हुलास स्टीललाई पाँच लाख र असार २९ गते नन्दन तथा गणपति उद्योगलाई समान दुई लाख ५० हजार जरिवाना गरेको थियो । तोकिएको समयभित्र एक उद्योगले मात्रै जरिवाना तिर्दा अन्य दुई उद्योगले भने अटेर गरेको इन्जिनियर सिंहले बताईन् ।

उपमहानगरपालिकाबाट गठित वातावरणीय अनुगमन समितिको स्थलगत निरीक्षण, नगर प्रहरीको प्रतिवेदन र वातावरणीय कारवाही सिफारिसका आधारमा तीन उद्योगहरूलाई कारबाहीस्वरुप जरिवाना गरिएको थियो । अनुगमनका क्रममा उद्योगहरूले फोहोर, तेलजन्य पदार्थ तथा लेदो आसपासका क्षेत्रमा फालेको, फोहोर पानीको उचित व्यवस्थापन नगरेको, कार्यस्थलमा सुरक्षा मापदण्ड पालना नगरेको र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन तथा कानुनको उलंघन गरेको पाइएको सिंहले जानकारी दिएकी छिन् ।

उपमहानगरपालिकाले वातावरण संरक्षण ऐन २०७६ तथा वातावरण संरक्षण नियमावली २०७७ बमोजिम असार १५ गते स्पष्टीकरण माग गरेकोमा चित्तबुझ्दो जवाफ नआएपछि जरिवाना गर्ने निर्णय गरेको सिंहले इशिलालेखलाई बताईन् । ती उद्योगले जथाभावी फोहोर गरिरहेको भन्ने जनगुनासो बढेपछि उपमहानगरपालिकाले अनुगमन गरेर पहिलो पटक जरिवाना गरेको हो ।

जरिवाना तोकिएको उद्योगमध्ये हुलास स्टीलले उपमहानगरलाई पत्र लेख्दै स्पष्ट कारण र प्रमाण उपलब्ध गराउन माग गरेको छ । आफुहरुले प्रदुषण नगरेको र जरिवाना पनि नतिर्ने भन्दै हुलास स्टीलले उल्टै जरिवाना गराउने कारण र प्रमाण माग गरेको जानकारी इन्जिनियर सिंहले दिइन् ।

अर्को उद्योग गणपति वनस्पति पनि सम्पर्कमा नआएको सिंहको भनाई छ । जरिवाना नतिर्ने दुबै उद्योग र प्रदुषण नियन्त्रणमा मौन देखिने अन्य उद्योगलाई पनि कारवाहीको दायरा ल्याईने सिंहले बताईन् ।

प्रतिक्रिया दिनुहोस्