जरिवाना नतिर्ने हुलास स्टील र गणपतिलाई उद्योगलाई दिईयो तीन दिनको समय


eShilalekh

५ श्रावण २०८३, मंगलवार १९:१०

सिमराः प्रदूषण नियन्त्रणमा गम्भीर नभएको भन्दै कारबाहीमा परेका दुई ठूला उद्योगलाई जीतपुरसिमरा उपमहानगरपालिकाले जरिवाना असुलीका लागि पुनः तीन दिनको अन्तिम समय दिएको छ । उपमहानगरपालिकाले मंगलबार जीतपुरसिमरा-१ मा रहेको हुलास स्टील इण्डष्ट्रिज र वडा नं. ३ मा रहेको गणपति वनस्पति लिमिटेडलाई जरिवाना बुझाउन तीन दिनको समय दिएको हो ।

वातावरणीय मापदण्ड उलंघन गरेको आरोपमा कारबाही गरिएका तीन ठूला उद्योगमध्ये सोमबार नन्दन घि एण्ड आयल ईण्डष्ट्रिजले मात्रै तोकिएको दुई लाख ५० हजार रुपैयाँ जरिवाना रकम बुझाएको थियो । नन्दन उद्योग प्रशासनले उपमहानगरको नेपाल बैंकस्थित राजस्व खातामा उक्त रकम दाखिला गरिसकेको भए पनि हुलास स्टील र गणपति वनस्पतिले भने जरिवाना तिर्न आलटाल र अटेरी गर्दै आएका छन् ।

यसअघि उपमहानगरपालिकाले असार २९ गतेसात दिनको समय दिएर हुलास स्टीललाई पाँच लाख रुपैयाँ र नन्दन तथा गणपति उद्योगलाई समान दुई लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । असार १५ गते माग गरिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएपछि उपमहानगरपालिकाले पहिलो पटक यी उद्योगहरूमाथि कारबाही गरेको हो ।

उपमहानगरद्वारा गठित वातावरणीय अनुगमन समितिको स्थलगत निरीक्षण, नगर प्रहरीको प्रतिवेदन र वातावरणीय कारबाही सिफारिसका आधारमा उद्योगहरूलाई दोषी पाइएको थियो । अनुगमनका क्रममा उद्योगहरूले फोहोर, तेलजन्य पदार्थ तथा लेदो आसपासका क्षेत्रमा फालेको, फोहोर पानीको उचित व्यवस्थापन नगरेको, कार्यस्थलमा सुरक्षा मापदण्ड पालना नगरेको र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन तथा कानुनको उलंघन गरेको देखिएपछि जरिवाना गरिएको हो ।

कारबाहीमा परेको हुलास स्टीलले भने आफूहरूले प्रदूषण नगरेको दाबी गर्दै उपमहानगरलाई पत्र लेखेर जरिवाना गराउनुको स्पष्ट कारण र प्रमाण उपलब्ध गराउन माग गरेको छ । हुलासले प्रमाण माग्दै जरिवाना नतिर्ने अडान लिएको भएपनि उपमहानगरपालिकाको वातावरण शाखा प्रमुख इन्जिनियर पुष्पा सिंहले थप गरिएको समयभित्र पनि जरिवाना नबुझाए वातावरण संरक्षण ऐन २०७६, वातावरण संरक्षण नियमावली २०७७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्य प्रचलित कानुन बमोजिम कडा रूपमा जरिवाना असुलउपरको प्रक्रिया अघि बढाइने चेतावनी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्