मानव बेचबिखनविरुद्ध सिमरा प्रहरीको सचेतना कार्यक्रमः प्रविधिको सही प्रयोग र सजगतामा जोड


eShilalekh

२० भाद्र २०८३, शनिबार १२:४७

सिमराः मानव बेचबिखनविरुद्धको २०औं राष्ट्रिय दिवसको अवसरमा सिमरास्थित इलाका प्रहरी कार्यालयले जीतपुरसिमरा उपमहानगरपालिका–८ गमरगावामा शनिबार एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दयाकृष्ण भट्टले पछिल्लो समय मानव बेचबिखनको स्वरुप परिवर्तन हुँदै गएको बताए । वैदेशिक रोजगारी, सामाजिक सञ्जाल र आकर्षक तलबको प्रलोभन देखाएर आधुनिक प्रविधिको दुरुपयोग गरी सर्वसाधारणलाई ठगी तथा बेचबिखनमा पार्ने गिरोह सक्रिय रहेकाले सजगता अपनाउन उनले सहभागीलाई अनुरोध गरे ।

डीएसपी भट्टले मानव बेचबिखनका सम्भावित जोखिमका संकेतहरू पहिचान गर्ने तरिका र यसको रोकथाममा प्रहरी तथा नागरिक समाजको संयुक्त भूमिकाबारे स्पष्ट पारेका थिए । उनले मानव बेचबिखन रोकथामका लागि समाजका हरेक नागरिकले एकअर्कासँग सूचना आदानप्रदान गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा वडाध्यक्ष शिवशंकर कुशवाहाले प्रहरीले आयोजना गरेको कार्यक्रम प्रभावकारी रहेको बताए । गाउँघरका सोझासाझा नागरिकहरू अज्ञानतावश बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले यस्ता समुदाय लक्षित सचेतना कार्यक्रमले सर्वसाधारणलाई जागरूक बनाउन मद्दत पुर्याउने कुशवाहाको भनाई थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी वरिष्ठ नायब निरीक्षक रुपेश थपलिया, इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौला, पूर्ववडाध्यक्ष रामबाबु पटेल, वडासदस्य गंगा पटेललगायत जनप्रतिनिधि, स्थानीयबासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्