प्रधानमन्त्री बालेनले देखाए प्रस्तावित निजगढ विमानस्थलमा चासो

सिमराः प्रधानमन्त्री बालेन्द्र शाहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता राष्ट्रिय गौरवका र रणनीतिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी भित्र्याउने विषयमा चासो देखाएका छन् ।
नेपालका शीर्ष उद्योगपतिहरूसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थलसहित ठूला पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने बारे परामर्श गरेका हुन् ।
भेटमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थल निजी क्षेत्रले निर्माण गर्न सक्छ कि सक्दैन भन्दै जिज्ञासा राखेका थिए । जवाफमा उद्योगीहरूले निजी क्षेत्र एकापसमा मिलेर यस्ता ठूला आयोजना निर्माण गर्न सक्षम रहेको स्पष्ट पारेका थिए ।
ठूला आयोजनामा लगानी भित्र्याउन विद्यमान जटिल र अप्ठ्यारा कानुनहरू बाधा बनेको भए तिनलाई संशोधन गरेरै भए पनि सरकारले पूर्ण सहजीकरण गर्ने आश्वासन प्रधानमन्त्रीले दिएका छन् । छलफलमा सहभागी आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र गोल्यान ग्रुपका संस्थापक पवन गोल्यानका अनुसार भेटघाट निकै सकारात्मक र उत्साहजनक रहेको छ ।
भेटमा उद्योगी विनोद चौधरी, आईएमई ग्रुपका अध्यक्ष ढकाल, पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ र गोल्यान सहभागी थिए ।







