वीरगन्जका मेयर राजेशमान सिंहले पाए विशेष अदालतबाट सफाइ

सिमरा: वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गलत लिखत सम्बन्धि मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन् । न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार सिंहसहित सात जनालाई सफाइ दिने फैसला गरेको हो ।
विशेष अदालतको आदेशसँगै निलम्बनमा परेको सिंहको मेयर पद स्वतः फुकुवा भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहमाथि अर्काको छोरीलाई आफ्नै छोरी भन्दै झूटो विवरणको आधारमा नागरिकता दिलाएको आरोप लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ बनाएर नागरिकता दिलाएको अख्तियारको दाबी थियो । तर सिंहले भने भट्टराई आफ्नो दोस्रो श्रीमती भएको बताउँदै आएका थिए ।
यस मुद्दामा विशेष अदालतले सिंहका साथै वीरगन्ज वडा नम्बर ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोखरेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेललाई पनि सफाइ दिएको छ ।







