आदर्श कोतवालस्थित डाईमन्ड बोडिङ्ग स्कुलमा बाल दिवस कार्यक्रम सम्पन्न

सिमरा: राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा बाराको आदर्श कोतवाल गाउँपालिका पटेर्वास्थित डाईमन्ड बोर्डिङ स्कुलले सोमबार हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ ।
‘बालबालिकाको हक, अधिकार, संरक्षण र प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा करिब दुई सय विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरूलाई नारायणी, जनकपुर र लुम्बिनी गरी तीन समूहमा विभाजन गरिएको थियो ।
प्रतियोगितामा जनकपुर समूह प्रथम, नारायणी समूह दोस्रो र लुम्बिनी समूह तेस्रो हुन सफल भएका छन् । जनकपुर समूहका सोनु गुप्ता, नेहा जैसवाल, पूजा यादव र अपसारा खातुन प्रथम भएका हुन् ।
यसैगरी नारायणी समूहका रोहित जैसवाल, कुशुम खातुन र स्वेता कुमारी यादव द्वितीय भएका छन् भने लुम्बिनी समूहका अजित साह, आरती राम, सन्जाना गुप्ता र अर्चना यादव तृतीय भएका छन् । विजेता विद्यार्थीहरूलाई शैक्षिक सामग्री पुरस्कार स्वरूप प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डाईमन्ड बोडिङ्ग स्कुलका प्रधानाध्यापक रामनरेश पटेलले बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षा नै मुख्य आधार भएको बताए । प्रधानाध्यापक पटेलले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको चौतर्फी विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलाप तथा विभिन्न चेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ । कार्यक्रममा शिक्षक उपेन्द्र पटेल, सिद्धार्थ यादव, निलम पटेल, आरती राम, प्रमिला शर्मा, सरिता यादव, विद्यालयका विद्यार्थी, अभिभावकको उपस्थिति रहेको थियो ।







