५ वर्षीया नाबालिकामाथि जबर्जस्ती करणीको आरोपमा ७५ वर्षीय वृद्ध पक्राउ


eShilalekh

२ आश्विन २०८३, शुक्रबार १२:११

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१९ इनर्वासिरामा पाँच वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ७५ वर्षीय हसन जान मियाँ पक्राउ परेका छन् । गाउँमै ताडको फल बेच्दै आएका मियाँले सोही फल लिन गएकी बालिकालाई घरभित्र लगेर जबर्जस्ती करणी गरेको पीडित परिवार र स्थानीयको आरोप छ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट इनर्वासिराको टोलीले आरोपी मियाँलाई उनकै घरबाट नियन्त्रणमा लिएको थियो । मियाँ पक्राउ परेलगत्तै आक्रोशित स्थानीयले उनलाई आफूहरूको जिम्मा लगाउन माग गर्दै इनर्वासिरा प्रहरी चौकी घेराउ गर्दा केही बेर स्थिति तनावपूर्ण बनेको थियो ।

प्रहरीले कडा सुरक्षा घेराबीच मियाँलाई चौकीबाट निकाल्ने क्रममा प्रदर्शनकारीले ढुङ्गामुढा गर्दा प्रसौनीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद रानामगर सामान्य घाइते भएका छन् भने प्रहरीको गाडीमा समेत क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन सिमरा, जीतपुर, प्रसौनी र कलैयाबाट थप प्रहरी टोली परिचालन गरी मियाँलाई इलाका प्रहरी कार्यालय सिमरा ल्याइएको छ ।

प्रहरीले बिहीबार राति नै आरोपी मियाँ र बालिकाको कलैयास्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण तथा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) गराएको छ । बालिकाले आफूमाथि मियाँले जबर्जस्ती गरेको बयान दिएका आधारमा अभिभावकले किटानी जाहेरी दिएका छन् । आरोपीले भने प्रारम्भिक सोधपुछका क्रममा दोष स्वीकार गरेका छैनन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टका अनुसार स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र आरोपीलाई हिरासतमा राखी घट्नाको अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्