सिमरा इन्फिल्डर्सको`ठोरीको रेल हजुर’ राइड सम्पन्न

सिमरा: रोयल इन्फिल्ड मोटरसाइकलका सौखिन राइडरहरूको सहभागितामा आयोजित ‘ठोरीको रेल हजुर’ नामक राइड शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । सिमरा इन्फिल्डर्सको आयोजनामा सञ्चालन भएको यस राइडमा देशका विभिन्न स्थानबाट बुलेट राइडरहरू सहभागी भएका थिए ।
उक्त राइडमा तनहुँ इन्फिल्डर्स, सिन्धुली इएमसी, रोयल इस्टर्न धरान, एमआरजी हेटौंडा, रोयल राइनो हब चितवन, काठमाडौं इन्फिल्डर्स, दाहा भिन्टेज चितवन र हेटौंडा इन्फिल्डर्सका राइडर्सहरूको सहभागिता रहेको थियो । सिमराबाट शुक्रबार सुरु भएको राइड पर्साको पर्यटकीय क्षेत्र ठोरी पुगेर पुन: सिमरा आएर शनिबार दिउँसो औपचारिक रूपमा समापन भएको हो ।
राइडको सुरुवातमा सिमरामा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टले राइडरहरूलाई बिदाइ गरेका थिए । सो अवसरमा उनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि राइडर्सको भूमिका अहम हुने बताउँदै यस्ता राइडहरूलाई उद्देश्यमूलक बनाउनुपर्नेमा जोड दिए ।
सिमराबाट यात्रा तय गर्दै राइडर्स टोली पहिलो दिन पर्सागढीको झाबराह रिसोर्ट पुगेर बास बसेको थियो । झाबराहमा पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले राइडर्सलाई स्वागत गरेका थिए । सो क्रममा नगर प्रमुख पाठकले पर्सागढीको ऐतिहासिक महत्त्व र यसको इतिहासबारे राइडर्सहरूलाई विस्तृत जानकारी गराएका थिए ।
झाबराहमा बास बसेपछि शनिबार बिहान राइडर्स टोली ठोरीतर्फ प्रस्थान गरेको थियो । ठोरीको जंगल भ्यु रिसोर्टमा पुगेका राइडर्सहरूलाई ठोरी नगरपालिकाका नगर प्रमुख लालबहादुर श्रेष्ठ र उपप्रमुख गोकुलीकुमारी रेग्मीले स्वागत गरेका थिए।
ठोरीका पर्यटकीय स्थलहरूको अवलोकन पश्चात् टोली पुन: सिमरा फर्किएर कार्यक्रमको समापन गरिएको सिमरा इन्फिल्डर्सका संयोजक राजकुमार लामाले जानकारी दिए ।







