जनकपुरमा मोटरसाइकल दुर्घटना: एक युवकको मृत्यु, तीन घाइते


eShilalekh

१ कार्तिक २०८३, आईतवार १२:५८

जनकपुर: धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१७ तेतरिया पुलमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटनामा स्थानीय १८ वर्षीय सुजित यादवको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालका अनुसार शनिबार राति करिब १० बजे पौडेश्वरबाट तेतरियातर्फ आउँदै गरेको ज ११ प ३०५८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मप्र-०२-००९ प ११५७ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएका थिए।

दुर्घटनामा ज ११ प ३०५८ नम्बरको मोटरसाइकल चालक सुजितको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा सवार २५ वर्षीय बलराम यादवको खुट्टामा चोट लागेको र प्रादेशिक अस्पतालमै उनको उपचार भइरहेको छ।

यसैगरी अर्का मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका-७ का २० वर्षीय रामपुकार यादवको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। सोही मोटरसाइकलमा सवार ३४ वर्षीय अखलेश यादवको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको र जनकपुर न्युरो अस्पतालमा उपचार भइरहेको डिएसपी खनालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्