रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु, दुई घाइते


eShilalekh

१ कार्तिक २०८३, आईतवार १३:१८

रौतहट: रौतहटको मौलापुर नगरपालिका-२ मर्यादपुरस्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका-२ शीतलपुरकी ७० वर्षीया सोमरिया देवी ठाकुर रहेकी छन्।

शनिबार राति करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी आमा सोमरिया देवी र २८ वर्षीया श्रीमती सीमा कुमारी ठाकुर घाइते भएका थिए।

घाइते तीनै जनालाई तत्काल उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान करिब ५ बजे सोमरियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालक त्रिविक्रम र उनकी श्रीमती सीमाको सोही अस्पतालमा उपचार भइरहेको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्