बारामा भारतीय गाडीको ठक्करबाट एक किशोरको मृत्यु, चालक पक्राउ


eShilalekh

१ कार्तिक २०८३, आईतवार १५:५८

सिमराः बाराको महागढीमाई नगरपालिका-१ स्थित हुलाकी राजमार्गको प्लाई फ्याक्ट्री चोकमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-२१ का १७ वर्षीय धिरज यादव रहेका छन्।

प्रहरीका अनुसार बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको ‘बीआर १९ जी ९९२१’ नम्बरको भारतीय स्कारपियोले आइतबार बिहान करिब ११ बजे विपरीत दिशाबाट आउँदै गरेको ‘बागमती प्रदेश ०३–००५ प ८८५५’ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धिरजलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। उक्त दुर्घटनामा मोटरसाइकलमा सवार कलैया-२१ भोडहाका १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण प्रसाद यादव घाइते भएका छन्।

घाइतेमध्ये नगेशको दाहिने हात, अनुहार र बायाँ खुट्टामा चोट लागेर अवस्था मध्यम रहेको छ भने अरुणको दाहिने हात र खुट्टामा चोट लागेर अवस्था सामान्य रहेको छ। दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी नायब निरीक्षक कपिल अधिकारीको नेतृत्वमा खटिएको टोलीले ठक्कर दिने स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका-३ का अन्दाजी ३८ वर्षीय अरुण कुमार दुबेलाई नियन्त्रणमा लिएको छ।

चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी बरियारपुरको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्