बाराको अमलेखगञ्जमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिक तीन सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
हेटौँडा-पथलैया सडकखण्डमा शुक्रबार दिउँसो डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो । ईभी हाइसको पछाडि रहेको धरानबाट हेटौँडातर्फ जाँदै गरेको परीक्षण नम्बर (अन टेस्ट) मोटरसाइकलसमेत ठोक्किएको थियो ।
घाइते हुनेमा ट्यांकर चालक जीतपुरसिमरा-१६ पिलुवाका ५० वर्षीय चेतनाथ खरेल, ईभी चालक कास्की पोखरा महानगरपालिका-५ का ३८ वर्षीय आशिष मल्ल, वीरगन्ज-२ की ४५ वर्षीया समिना खातुन र उनकी करिब २५ वर्षीया छोरी सखीना खातुन रहेका छन् ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाकी २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा महानगरपालिका-१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री, सुनसरी धरान उपमहानगरपालिका-१६ का २४ वर्षीय सरोज गुभाजु, भारत बिहारका ७० वर्षीय नवलकिशोर साह, बाराको प्रसौनी गाउँपालिका-२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार र भारत पश्चिम बंगाल हुग्लीकी २६ वर्षीया साबनी दास घाइते भएका छन् ।
घाइतेमध्ये केहीको हात, खुट्टा, टाउको तथा निधारमा चोट लागेको छ । सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको अमलेखगञ्जस्थित स्थानीय अक्कलबहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





