फेटा घटना : घाइते बालकलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लगियो


eShilalekh

१५ कार्तिक २०८३, आईतवार १७:३९

सिमरा : बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १४ वर्षीय बालक आदित्य पासवानलाई आइतबार नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। वीरगन्जस्थित नेशनल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत बालकलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।

फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा प्रहरीले चलाएको गोली लागेर पासवान घाइते भएका थिए। उनलाई पछाडिबाट कम्मर छेउमा गोली लागेको थियो। घटनालगत्तै अस्पताल पुर्याइएका उनलाई चिकित्सकले शल्यक्रिया गरी गोली निकालेपछि भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो। शल्यक्रियापछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो।

घाइते बालकको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाको हेलिकोप्टरमा भेन्टिलेटर सुविधासहित हेम्स अस्पतालका चिकित्सकहरू वीरगन्ज आएका थिए। उनीहरूले नेशनल मेडिकल कलेजका चिकित्सकहरूसँगको लामो परामर्श र स्वास्थ्य अवस्थाको मूल्याङ्कनपछि बालकलाई बुवा र दाजुको साथमा सुरक्षित रूपमा काठमाडौं लगेका हुन। हाल उनलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको ए ब्लकको ४ नम्बर आइसियु कक्षमा राखेर उपचार सुरु गरिएको छ।

शनिबारको तुलनामा उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खडानन्द अधिकारीले जानकारी दिएका छन्। बालकको अवस्था गम्भीर रहेका कारण शनिबार नै काठमाडौं लैजान जोखिमयुक्त हुने चिकित्सकको सुझाव थियो। सबै मापदण्ड पूरा गरेर उनलाई सफलतापूर्वक काठमाडौं स्थानान्तरण गरिएको हो। प्रजिअ अधिकारीले घाइते बालकको उपचारमा नेशनल मेडिकल कलेजका चिकित्सकहरूले अत्यन्तै उत्कृष्ट कार्य गरेको बताउँदै थप सुविधासम्पन्न अस्पतालमा हुने उपचारले स्वास्थ्य अझै सुधार आउने विश्वास व्यक्त गरेका छन्। उनले घटना दुःखद भएको भन्दै यस्तो घटना दोहोरिन नदिनका लागि समाजका सबै पक्षको भूमिका अहम हुने बताए। 

फेटा गाउँपालिका–३ मा निर्माण गरिएको अस्पताल भवनको काम पूर्ण रूपमा सम्पन्न नहुँदै उद्घाटन गर्न लागिएको विषयलाई लिएर शनिबार दिनभर क्षेत्र तनावग्रस्त बनेको थियो।  गाउँपालिकाका पूर्वअध्यक्ष अमिरीलाल प्रसादसहितका स्थानीयले भवन अधुरै रहेको भन्दै विरोध जनाएका थिए। विरोधकाबीच गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाको आतिथ्यतामा शनिबार दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरेका थिए। प्रजिअ अधिकारीले विवाद चुलिने देखेपछि उद्घाटन कार्यक्रम रोक्न आग्रह गरे पनि अध्यक्ष अंसारीले तयारी पूरा भइसकेको भन्दै कार्यक्रम रद्द गर्न मानेका थिएनन्। विरोध गर्दै आएको पक्षलाई समेत प्रजिअ अधिकारीले अस्पताल उद्घाटनलाई विवादको विषय नबनाउन अनुरोध गरेका थिए ।

तर विरोधमा उत्रिएका पक्षले बिहान ९ बजेदेखि नै प्रदर्शन सुरु गरेको थियो। उनीहरूले उद्घाटन कार्यक्रमका लागि बनाइएको टेन्ट भत्काउदै शिलालेख फुटाएपछि प्रहरीले धरपकड सुरु गरेको थियो। सोही क्रममा इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामाले विरोधको नेतृत्व गरिरहेका अमिरीलाल प्रसादसहित केहीलाई पक्राउ गर्न खोज्दा स्थिति थप बिग्रिएको थियो भने प्रहरीले चलाएको गोलीले बालकलाई लागेको थियो। घटनालगत्तै आक्रोशित स्थानीयले प्रहरीको एउटासहित १० वटा मोटरसाइकलमा आगजनी र अस्पताल तोडफोड गरेका थिए। दोहोरो झडपमा दुबै पक्षका केही घाइते भएका थिए। 

गोली चलेसंगै तनावपूर्ण बनेको स्थितिलाई प्रशासनले केही समयमै नियन्त्रणमा लिन सफल भएको थियो। घटनालगत्तै जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो भने उक्त क्षेत्रमा एक सय ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। पर्सा र रौतहटबाट समेत सुरक्षाकर्मीको थप टोली बारा ल्याइएको थियो। 

यता बालकलाई काठमाडौं लगिएपछि प्रजिअ अधिकारीले दुवै पक्षलाई संयमित हुन र शान्तिपूर्ण वातावरण निर्माण गर्न आग्रह गरेका छन्। अस्पतालजस्तो संवेदनशील विषयलाई लिएर यस्तो घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै उनले समाजका सबै पक्षले गम्भीर भएर सोच्नुपर्ने र आ-आफ्नो कमजोरी महसुस गर्न आवश्यक रहेको बताए। उनले सुरक्षाकर्मीबाट भएको कमजोरीबारे आन्तरिक छानबिन सुरु भइसकेको र दोषीलाई कारबाही हुने प्रष्ट पारेका छन्। घटनामा अनावश्यक बल प्रयोग गरी गोली चलाएको भन्दै आन्दोलनरत पक्षले कारबाहीको माग गरेपछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक लामालाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको छ भने उनको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई खटाइएको छ । गोली चलाउने प्रहरीलाई समेत जिल्लामा तानिएको छ। 

यसैबीच घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा प्रहरी उपरीक्षक भुनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्