विद्यार्थी र खेलाडीलाई एमाले जीतपुरसिमराको सम्मान 


eShilalekh

१५ कार्तिक २०८३, आईतवार १८:५६

सिमरा: नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका कमिटीले उपमहानगरभित्रका उत्कृष्ट विद्यार्थी तथा खेलाडीलाई नगदसहित सम्मान गरेको छ । 

विजयादशमी, शुभदीपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपमहानगरभित्रका एसईई र कक्षा १२ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने पाँच जना विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँ नगद र कदरपत्रसहित सम्मानित गरिएको हो । 

सम्मानित हुनेमा कक्षा १२ तर्फ संस्थागत विद्यालयबाट शुभारम्भ एकेडेमी सिमराका श्रवणकुमार मिश्र र सामुदायिक विद्यालयबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगन्जकी रनिता रुम्बा तथा जनता माध्यमिक विद्यालय रजघट्टाका पंकजकुमार यादव रहेका छन् । एसईईतर्फ संस्थागत विद्यालयबाट ब्राइटर एकेडेमीका अंकित साह र सामुदायिक विद्यालयबाट जनता माध्यमिक विद्यालय रजघट्टाका मनिष पनेरु रहेका छन् । 

यसैगरी जीतपुरसिमरा उपमहानगरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गराउन योगदान पुर्‍याएकी जापानमा सम्पन्न एसियन गेम्समा सहभागिता जनाएकी कबड्डी खेलाडी गङ्गा चौलागाईंलाई १० हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरिएको छ । कार्यव्यस्तताका कारण चौलागाईं कार्यक्रममा उपस्थित हुन नसकेपछि उक्त सम्मान अर्को कार्यक्रममा प्रदान गरिने नगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाहले जानकारी दिए । 

नगर कमिटी अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू ज्वाला साह, किसान श्रेष्ठ, सीता सुवेदी, पूर्व केन्द्रीय सदस्य सरस्वती चौधरी, प्रदेश कमिटी सचिव मनोज पौडेल, प्रदेश सचिवालय सदस्य सुन्दर विक, प्रदेश सभा सदस्य देवनारायण चौधरी, एमाले जिल्ला सचिव अमृत शर्मा बजगाईं, जीतपुरसिमरा सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रमको सहजीकरण रविन्द्र खकुरेलले गरेका थिए भने स्वागत मन्तव्य नगर कमिटी उपाध्यक्ष कैमुदीन अन्सारीले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्